इलाम । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गका विभिन्न स्थानमा सडक अबरुद्ध भएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा लेदोसहितको पहिरो झरेपछि गएरातिदेखि सडक अबरुद्ध बनेको हो । पहिरोका कारण उक्त खण्डमा सवारी साधन सञ्चालन हुन नसकेको सडक डिभिजन इलामले जनाएको छ । यस्तै, मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–४ र झापा जिल्लाको सिमाना क्षेत्रमा पनि सडक अबरुद्ध भएको छ । भित्ताको डिस्को खस्नुका साथै चिलाउनेका दुई वटा रुख सडकमा ढलेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको इलाम प्रहरीले जनाएको छ । त्यहाँको पहिरो पन्छाउने कार्य सुरु गरिए पनि राजदुवाली क्षेत्रको अवरोध हटाउन समय लाग्ने सडक डिभिजन इलामका प्रमूख पवन भट्टराईले जानकारी दिए । शनिबार राती १० बजेदेखि भएको वर्षाका कारण पहिरो र बाढीको जोखिम बढ्दै गएको छ । सडक अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला र झापाबीच आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारी साधन बीच बाटोमै रोकिएका छन् ।