झापा । झापामा समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि पाँच वटा नगरपालिकाका नगर प्रहरीलाई तालिम प्रदान गरिएको छ । असार ९ गतेदेखि ७ दिन संचालन गरिने तालिममा दैबीप्रकोप, बिपद् ब्यवस्थापनको बारेमा सचेत तथा सहजीकरण गरिएको थियो ।त्यस्तै तालिम अवधिभर प्रशिक्षार्थीहरुलाई बिपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिने गणका प्रबक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले बताए ।तालिममा मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कन्काई र भद्रपुर नगरपालिकाका चार चार जना गरी जम्मा २० जना नगर प्रहरीको सहभागिता छ । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी लगायतले सहजीकरण गरेका थिए ।सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना र आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोगमा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वाटरमा तालिम संचालनमा ल्याएको जनाएको छ ।




















































