झिलझिले । कुकुरले टोकेर एक दर्जनबढी स्थानीय घाइते बनाएपछि शिवसताक्षी नगरपालिकाकाले रैथाने कुकुरहरुलाई समातेर क्वारेन्टाइनमा राख्न थालेको छ । शिवसताक्षी नगरपालिकाले नगर प्रहरी परिचालन गरी हिजो १४ वटा सामुदायिक कुकुरहरुलाई समातेर पशु सेवा केन्द्रको क्वारेन्टाइनमा राखेको हो ।
सोमवार कुकुरको टोकाइबाट एक दर्जन बढी मानिस घाइते बनाएर आतंक बनाएपछि नगरले उक्त अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ थोप्राले बताए ।
कुकुरले टोकेका ६ जनालाई अलगलगल अस्पतालमा उपचार गरिँदै आएको छ । कुकुरको टोकाइबाट घाइते भएका शिवसताक्षी ८ का ६१ वर्षीया रीता ठकुरी, ५२ वर्षीय रंजन पोद्धार र १६ वर्षीय युरोप राईलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ भने ८ वर्षीय आशिष कट्टेल र ८ वर्षकै रियान श्रेष्ठ बीएण्डसी अस्पतालमा उपचारर्थ छन् ।
त्यस्तै ४ वर्षीय अनुराग भट्टराईलाई मेची आँखा अस्पताल उपचारका लागि ल्याइएको छ । घरमा बसिरहेका, बाटोमा हिडिरहेका , विद्यालय जाँदै गरेका बालबालिकादेखि बृद्धबृद्धाहरुलाई कुकुरले टोकेर भर्ना गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।




















































