बिर्तामोड । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी एक वर्षभित्र कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । झापाको बिर्तामोडमा मंगलबार आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले घरघरमा पुगेर संगठन सुदृढ गर्न कार्यकर्तालाई आग्रह गर्दै उक्त प्रतिबद्धता जनाएका हुन् । 

उनले काङ्ग्रेस पार्टी कुनै व्यक्तिको निजी कम्पनी नभई देशको विकास अवधारणाको पहिलो खुड्किला भएकोसमेत  बताएका थिए ।

दसौं लाख मानिस कांग्रेसलाई मत हाल्दै आएका छन्, उनीहरूको भरोसा जित्नुपर्छ, थापाले भने,`क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा मान्यता दिइदैन ।´ उनले पार्टीको सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाइएकाले अद्यावधिक नगरेका सदस्यहरूको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने बताए। पार्टीलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको उनको भनाई थियो। विगत ८–१० वर्षमा पार्टीलाई कमजोर बनाइएको उल्लेख गर्दै उनले सुधारको अभियानमा बाधा पुर्‍याउने प्रस्ताव स्वीकार नगरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले अब छिट्टै वडा अधिवेशन सुरु हुने जानकारी दिँदै क्रियाशील सदस्यता अद्यावधिक नगरेका कार्यकर्ताको नाम स्वतः हट्ने बताए। 

पार्टीभित्रको विवादतर्फ संकेत गर्दै थापाले १४औँ महाधिवेशनबाट आएको कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मर्ज गर्ने प्रस्ताव विधानविपरीत हुने भएकाले आफूले त्यस्तो निर्णय गर्न नसक्ने स्पष्ट पारे। “मैले त्यो काम गरेँ भने विधान मिचेको हुन्छ,” उनले भने।

उनले आगामी १५औँ महाधिवेशन सबै कांग्रेसजनको साझा महाधिवेशन हुने र विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कसैमाथि विभेद नहुने बताए। असन्तुष्ट नेताहरूसँग सम्मानजनक संवाद जारी रहने उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाइने धारणा राखे।

थापाले भविष्यमा सदस्यता व्यवस्थापन, निर्वाचन प्रक्रिया र संगठन सञ्चालनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाइने जानकारी पनि दिए। उनका अनुसार केन्द्रीय कार्यालयसँग प्रत्येक सक्रिय सदस्यको विवरण डिजिटल रूपमा रहनेछ र उम्मेद्वार छनोटदेखि संगठनात्मक निर्णयसम्ममा सदस्यहरूको प्रत्यक्ष सहभागिता बढाइनेछ। “अब पार्टी माथिबाट होइन, तलबाट चल्नुपर्छ। कार्यकर्ताको राय नै निर्णयको मुख्य आधार बन्नुपर्छ,” उनले भने।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न महाधिवेशन नेतृत्व चयनभन्दा पनि नीति, निर्णय र नियतका आधारमा मूल्याङ्कन हुनुपर्ने बताएका छन्।

शर्माले रास्वपाले राष्ट्रियता, लोकतन्त्र र सुशासनका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। प्रधानमन्त्रीले नेपाल–भारत सीमा अतिक्रमणबारे दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै उनले त्यस विषयमा रास्वपाको आधिकारिक धारणा महाधिवेशनबाट स्पष्ट हुनुपर्ने धारणा राखे। “भारतले नेपालको भूमि मिचेको हो भने कहाँ–कहाँ मिचिएको हो भन्ने कुरा पार्टीको दस्तावेजमा आउनुपर्छ, होइन भने प्रधानमन्त्रीलाई संसद्मा गएर अभिव्यक्ति फिर्ता लिन भन्नुपर्छ,” उनले भने।

लोकतन्त्रको सन्दर्भमा शर्माले नागरिकलाई विकल्प नदिई घर भत्काउने कार्य, राष्ट्रपति सम्बोधनका क्रममा सांसदहरू उठेर बाहिरिने प्रवृत्ति, संसद्लाई पर्याप्त समय नदिने सरकारी शैली तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशजस्ता विषयमा पनि रास्वपाले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।