मेचीनगर । एसियन हाइवे निर्माणकर्ताको लापरबाहीका कारण झापा मेचीनगर-७ मा सञ्चालनमा रहेको पाथीभरा मसला उद्योगमा क्षति पुगेपछी सञ्चालक युवा ब्यवसायी घनश्याम ओलीले क्षतिपूर्तिको माग गरेका छन् ।
सात वर्षदेखि मसला उद्योगको रुपमा स्थापना भएसँगै मेचीनगर र बुद्धशान्तिका बजारमा उत्पादित वस्तुको सेवा दिइँदै आएको उद्योगमा हाइवेबाट आएको पानीले क्षति गरेसँगै ब्यवसायी ओलीले क्षतिपूर्तिको माग गरेका हुन् ।
उनका अनुसार बिहिबार रातीको बर्षासँगै सडकको भेल उद्योगमा पस्दा मसला बनाउने मेसिन औजार, सवारी साधानसहित भण्डारण गरेको मसला र कोदो, फापर, मकै, गहुँ लगायतको बोरा नष्ट हुँदा १५ लाख बढीको क्षति भएको उद्योग सञ्चालक घनश्याम ओलीले बताए । गतवर्ष पनि हाइवे निर्माणकर्ताको लापरबाहीले पानी उद्योग मा पस्दा धेरै सामाग्री नष्ट भएपछि निर्माणकर्तालाई ध्यानाकर्षण गराएको उनको भनाई छ । उक्त समस्याको बारेमा मेचीनगर-७ का वडाध्यक्ष प्रल्लाद ओलीमार्फत बाटो निर्माणमा खटिएका इन्जिनियरलाई समस्याबारे अवगत गराएको तर, सम्बोधन नगर्दा पुनः उद्योगमा धेरै क्षति पुगेको पीडित ओलीको भनाई छ । उनले क्षति पुगेको सामाग्रीको राहत तथा क्षतिपूर्ति नदिए कानुनी प्रक्रियामा जाने संचालक ओलीको भनाई छ । यसैबीच समस्या भएपछि सामाधान नगरेकै कारण पुनः ओलीको उद्योगमा क्षति पुगेको र नगरपालिकाले बिपदबाट सकेको राहत उपलब्ध गराउने मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।




















































