चारआली । चारआली । झापाको मेचीनगर–१३ ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उत्तरगङ्गा धाम तथा फुलभासा करिडोर (बाटो) परियोजनालाई वडा गौरवको योजनाका रूपमा अघि सार्दै विकासका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार सम्पन्न वडास्तरीय योजना तर्जुमा गोष्ठीले चारआलीको धार्मिक, पर्यटकीय र आर्थिक पहिचानलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित उत्तरगङ्गा धाम तथा फुलभासा करिडोरलाई प्राथमिकतामा राखेको हो। त्यस्तै नेपाली सेनाको सहकार्यमा चारआली पार्क निर्माणको योजनासमेत अगाडि बढाइएको छ। वडाभित्र रहेका ३९ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, शैक्षिक तथा सामाजिक क्षेत्रका अगुवाहरू सहभागी भेलाले पाँच घण्टासम्म व्यापक छलफल गर्दै आगामी वर्षका प्राथमिक योजना तय गरेको थियो।Screenshot_20260615_165722_VN - Video Editorभेलामा टोल विकास संस्थाका प्रतिनिधिहरूले सडक, मठमन्दिर, विद्यालय, सामुदायिक भवन, क्लब तथा अन्य आधारभूत पूर्वाधारको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न माग गरेका थिए। सहभागीहरूले लागूऔषध दुर्ब्यशन नियन्त्रणका लागि खेलकुद, मनोरञ्जन तथा सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी सहिद छबिलाल मार्गको कालोपत्र, महेन्द्र राजमार्गको प्रगतिमार्ग बाङ्गेपुल हुँदै काजिबारी कालोपत्र, लेखनाथ मार्ग, सिग्देल गाउँ, आईतबारे कालोपत्र, उत्तरगङ्गा सर्पदंस उपचार केन्द्र मार्ग कालो पत्र, तारपिन फेक्ट्री निमडोमा मार्ग कालोपत्रको स्तरोन्नति गर्न योजना माग गरिएको छ ।

त्यस्तै बराल मार्ग फुलभासा खोला पक्की पुल, साना शाखा बाटो तथा आईतबारे साप्ताहिक बजार ब्यवस्थापन, चारआली खानेपानी तथा दशरथ खेलमैदान, फुलभासा खोला तटबन्धन तथा निचाझोडा सिमसार ब्यवस्थापन, आदिवासी जनजाति सामुदायिक भवन तथा अन्य सामुदायिक भवन निर्माण ब्यवस्थापन, ग्रामथान तथा सांस्कृतिक पर्व प्रवर्द्धन संरक्षणका लागि योजना माग गरिएको थियो ।

वडाध्यक्ष कृष्णराज सिग्देलका अनुसार चारआलीको आर्थिक मेरुदण्डका रूपमा रहेको सब्जीमण्डीलाई थप व्यवस्थित र आधुनिक बनाउने योजना पनि अघि सारिएको छ। मण्डीको एक बिघा जमिनमा वडा कार्यालय भवन निर्माण गर्ने तथा सब्जीमण्डीलाई बहुउद्देश्यीय बहुतले संरचनामा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको उनले जानकारी दिए।

कृषि क्षेत्रको व्यवसायीकरण, सीपमूलक कला तथा उद्यम विकासमार्फत रोजगारी सिर्जना, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र व्यवस्थापनलाई समेत आगामी योजनाको महत्वपूर्ण प्राथमिकतामा राखिएको छ।

गोष्ठीमा विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्नो क्षेत्रका विकास आवश्यकताबारे विस्तृत सुझाव प्रस्तुत गरेका थिए। स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले समेत विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

शिक्षा क्षेत्रबाट दशरथ माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेल, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक, त्रिदेव क्याम्पस प्रमुख गोपिकृष्ण भट्टराई तथा क्याम्पस अध्यक्ष सन्तोष न्यौपानेले विद्यालय तथा क्याम्पसका पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका थिए। स्वास्थ्य चौकी, सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि आफ्ना क्षेत्रका आवश्यकता प्रस्तुत गरेका थिए।

मेचीनगरका १५ वटै वडाका लागि ६० लाख रुपैयाँ बजेट सिलिङ तोकिएको छ। जनसंख्या, भूगोल, राजस्व तथा अन्य सूचकका आधारमा थप ३६ लाख ६१ हजार रुपैयाँ प्राप्त भएकाले मेचीनगर–१३ को कुल बजेट सीमा ९६ लाख ६१ हजार रुपैयाँ पुगेको वडाध्यक्ष सिग्देलले जानकारी दिए।

कृष्णराज सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रीता परियारले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सचिव पवित्रा बस्नेतले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

चारआलीलाई धार्मिक पर्यटन, हरित पूर्वाधार र आधुनिक बजार व्यवस्थापनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि सारिएका यी योजनाले आगामी वर्षमा वडा विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। ।