झापा । झापाको मेचीनगर नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान करिब ४:५५ बजे मेचीनगर–४ स्थित वडा कार्यालय नजिकै घरबाट बाहिर निस्कने क्रममा स्थानीय ६२ वर्षीया पद्मा पौडेलमाथि अचानक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले कुल्चिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर पठाउने तयारी भइरहेको छ । भारतसँग सीमा जोडिएको बाहुनडाँगी क्षेत्र जंगली हात्तीको आवतजावत हुने संवेदनशील क्षेत्रका रूपमा परिचित छ । पछिल्लो समय हात्ती–मानव द्वन्द्वका घटनाहरू बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन् ।




















































