झापा । स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहार, कुटपिट तथा असुरक्षाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सडकमा उत्रिएर मौन प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले स्वास्थ्यकर्मीको अनुहार ढाकिएको प्रतीकात्मक मास्क लगाएर प्लेकार्ड बोकेका थिए। उनीहरूले “डाक्टरलाई १ थप्पड होइन, उपचार बन्द गर”, “स्वास्थ्यकर्मीमाथि जेसुकै बोल्ने कोही होइनन्”, “स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर”, “हामीलाई काम गर्ने सुरक्षित वातावरण देऊ” लगायतका सन्देशमार्फत स्वास्थ्य क्षेत्रमा बढ्दो हिंसा र असुरक्षाप्रति राज्यको ध्यानाकर्षण गराएका छन्।प्रदर्शनकारीहरूको भनाइ अनुसार बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नै विभिन्न बहानामा आक्रमण, दुर्व्यवहार र धम्कीको शिकार हुनुपरेको अवस्था चिन्ताजनक छ। स्वास्थ्य संस्था र उपचारमा संलग्न जनशक्तिको सुरक्षा सुनिश्चित नगरे स्वास्थ्य सेवा नै प्रभावित हुने उनीहरूको चेतावनी छ। उनीहरूले स्वास्थ्यकर्मीमाथि हुने हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न, स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण निर्माण गर्न तथा स्वास्थ्यकर्मीको पेशागत सम्मान र सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन्। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिमाथि हुने आक्रमणले समग्र स्वास्थ्य प्रणालीलाई कमजोर बनाउने भन्दै प्रदर्शनकारीहरूले यस्तो अवस्था अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। मौन प्रदर्शनमार्फत उनीहरूले “स्वास्थ्यकर्मी सुरक्षित भए मात्रै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन्” भन्ने सन्देश दिएका छन्।




















































