झापा । सरकारी बिज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णय विरुद्धमा देशभरमा पत्रकार आन्दोलित भएका छन् । दुई महिनायता निजी क्षेत्रलाई बिज्ञापन प्रकाशनमा रोक लगाएपछि आन्दोलनरत नेपाल पत्रकार महासंघ देशका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाएको हो । 

प्रेस स्वतन्त्रता विरोधी गतिविधि रोक्न माग गर्दै झापाली पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा जिल्ला प्रशासन कार्यालयको मूल गेटमा पुगेर पत्रकारहरूले एक घण्टा धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू गणेश पोखरेल र चिन्तामणि दाहालले सरकारले सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोण सुधार गर्दै  नेपाल पत्रकार महासंघले अघि सारेका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । लोकतान्त्रिक मुलुकमा स्वतन्त्र प्रेसमाथि सरकारबाटै गरिएको बिभेदपुर्ण ब्यवहार सञ्चारमाथीको हस्तक्षेप भएको उल्लेख गरेका थिए ।