बिर्तामोड । इजलास दैनिकले आफ्नो १० औँ वार्षिकोत्सवका अवसरमा स्मारिका विमोचन गरेको छ । झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको इजलासले सोमबार बिर्तामोडमा वार्षिकोत्सवसहित पत्रिकाको विशेष स्मारिका (म्यागजिन) समेत विमोचन गरेको हो।
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकको आयोजनामा भएको कार्यक्रममा पत्रिकाका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालगायतले संयुक्त रूपमा स्मारिकाको विमोचन गरेका थिए। कार्यक्रममा स्मारिका प्रकाशनमा सहयोग पुर्याउने विभिन्न विज्ञापनदाता तथा सहयोगी संस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो। पत्रिकाले दशक लामो प्रकाशन यात्रामा सहयोग पुर्याउने व्यक्ति तथा संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।
सो अवसरमा नेपाल युवा उद्यमी मञ्च झापाका प्रथम उपाध्यक्ष मिजास पोखरेल, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले स्थानीय पत्रकारिता सुदृढीकरणमा इजलास दैनिकले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए। कार्यक्रममा इजलास दैनिकका सम्पादक प्रदीप परियारले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन रमेश तिवारीले गरेका थिए । १० वर्षको प्रकाशन यात्रा पूरा गरेको अवसरमा इजलास दैनिकले स्थानीय मुद्दा, विकास, सामाजिक सरोकार तथा जनचासोका विषयलाई निरन्तर प्राथमिकताका साथ उठाउँदै आएको जनाएको छ ।



















































