मेचीनगर । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले बर्तमान सरकार तीब्रगतिमा अघि बढेको पनि उद्योगी व्यवसायीहरूलाई त्यसको प्रभाव नपरेको बताएका छन् । मेची उद्योग वाणिज्य संघकाे १० औं  पदहस्तान्तरण तथा सपथ ग्रहण समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
देशको अर्थतन्त्रको चर्चा गदैं प्रमुख अतिथि श्रेष्ठले यो मुलुकको अर्थतन्त्र खासै ठुलो नभएको सामान्य अवस्थाको अर्थतन्त्रलाई नेपाली उद्योगी व्यवसायीले चलायमान बनाउँदैं लगेको दाबी गरे ।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेखनीय भूमिका र योगदान भए पनि सरकारले यो देशको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उनले यो दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता ओैँल्याए । अब हरेक संघलाई चलायमान बनाउने जिम्मा महासंघको रहेकाले यस विषयमा आगामी दिनमा सवै क्षेत्रसँग आवश्यक छलफल, समन्वय र अन्तरक्रिया गर्ने योजना सुनाए । झापाको मेचीनगर-१० स्थित धुलाबारीमा आयोजित कार्यक्रममा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता पदम डाँगीले २६ वैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्यहरूको नाम घोषणा गरेका थिए । संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिनाले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए।  

नवनिर्वाचित अध्यक्ष खेमराज प्रसाईले आगामी दिनमा आफ्नो नेतृत्वमा रहेको टिमले रात्रीकालिन बजार सञ्चालन गर्ने, नगरका मुख्य चोक र गल्लीमा सिसि क्यामरा जडान गर्ने, मेचीनगरको मुख्य व्यवसायिक केन्द्र काँकडभिट्टामा संघको शाखा कार्यालय स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रमेश रसाईली दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँ, मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेलगायतले नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई बधाई ज्ञापन तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) स्वागत गरेका थिए । कार्यक्रमको निवर्तमान महासचिव दिनेश शाक्य र नवनिर्वाचित महासचिव ध्रुव कनालले गरेका थिए ।