झापा । सुकुम्बासी बस्तीमा गरिएको डोजर चलाउने अभियानप्रति नेकपा (एमाले) झापाले कडा आपत्ति जनाएको छ। पार्टीले शुक्रबार जारी गरेको विज्ञप्तिमा काठमाडौँ उपत्यका लगायत विभिन्न शहरी क्षेत्रमा विकल्पबिना घर–टहरा भत्काउने कार्य अमानवीय भएको उल्लेख गर्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा नेपालको संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै नेपाल संयुक्त राष्ट्रसंघका विभिन्न मानव अधिकारसम्बन्धी सन्धि–सम्झौतामा आबद्ध राष्ट्र भएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा राज्यबाटै गरिब तथा भूमिहीन नागरिकलाई विस्थापित गर्ने कार्य अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत विपरीत भएको एमालेको ठहर छ।पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने क्रममा नेपाली सेनाको प्रयोग गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। “नागरिकलाई सुरक्षा दिनुपर्ने निकायबाटै त्रास सिर्जना हुनु दुःखद हो,” विज्ञप्तिमा भनिएको छ।





















































