एजेन्सी । इजरायल प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको राजधानी तेहरान लक्षित सैन्य कारबाही आगामी दिनमा थप आक्रामक बनाइने चेतावनी दिएका छन् । आइतबार रक्षा मन्त्री, सेना प्रमुख तथा गुप्तचर निकाय मोसादका प्रमुखसँग छलफलपछि उनले इरानविरुद्धको अभियानलाई निरन्तरता दिने निर्देशन दिएका हुन् ।
तेल अभिभस्थित सैन्य मुख्यालयको छतमाथिबाट सम्बोधन गर्दै उनले इजरायली सेनाले “तेहरानको केन्द्र भागमा प्रहार गरिरहेको” उल्लेख गरे र आगामी दिनमा त्यसको प्रभाव अझ विस्तार हुने बताए।
प्रधानमन्त्री नेतान्याहुले पछिल्ला दिनमा देशले व्यहोरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गरे। उनले तेल अभिभ र बेइत शेमेशमा नागरिकको ज्यान गएको घटनालाई स्मरण गर्दै ती दिनहरू अत्यन्त पीडादायी रहेको बताए। मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।
इजरायलको अस्तित्व र दीर्घकालीन सुरक्षाका लागि सेनाको पूर्ण शक्ति परिचालन गरिएको उनको दाबी छ।



















































