एजेन्सी । मध्यपूर्वमा चर्किँदै गएको सैन्य तनावबीच साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्कोले आफ्नो प्रमुख रास तनुरा रिफाइनरी अस्थायी रूपमा बन्द गरेको छ । उद्योग स्रोतका अनुसार इरानद्वारा गरिएको ड्रोन आक्रमणपछि एहतियातका रूपमा रिफाइनरी सञ्चालन रोकिएको हो।
साउदी अरेबियाको खाडी तटमा अवस्थित रास तनुरा कम्प्लेक्स मध्यपूर्वकै ठूलो रिफाइनरीमध्ये एक हो । जसको दैनिक प्रशोधन क्षमता करिब ५ लाख ५० हजार ब्यारेल (५.५ लाख ब्यारेल) रहेको छ । यो साउदी कच्चा तेल निर्यातका लागि अत्यन्त महत्वपूर्ण टर्मिनल पनि मानिन्छ।
स्रोतका अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रिफाइनरी बन्द गरिएको हो र स्थिति हाल नियन्त्रणमा रहेको जनाइएको छ। अरामकोले भने यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । ड्रोन आक्रमणको यो घटना खाडी क्षेत्रमा पछिल्लो समय भइरहेका आक्रमणहरूको श्रृंखलाकै एक हिस्सा हो। अबुधाबी, दुबई, दोहा, मनामा र ओमानका केही भागहरूमा समेत आक्रमणको रिपोर्ट सार्वजनिक भइसकेका छन्। यसले खाडी क्षेत्रका प्रमुख शिपिङ हबहरू प्रभावित भएका छन्।
घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा उथलपुथल देखिएको छ । ब्रेन्ट क्रूडको मूल्य सोमबार करिब १० प्रतिशतसम्म उकालो लागेको अन्तर्राष्ट्रिय बजार स्रोतहरूले जनाएका छन् । ऊर्जा आपूर्ति अस्थिर हुने आशंकाले विश्व अर्थतन्त्रमा थप दबाब पर्ने संकेत देखिएको छ।
साउदी अरेबियाका ऊर्जा पूर्वाधार यसअघि पनि निशानामा परेका थिए । सन् २०१९ मा अब्कैक र खुराइस तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा मिसाइल आक्रमणले साउदीको आधाभन्दा बढी कच्चा तेल उत्पादन अस्थायी रूपमा अवरुद्ध गरेको थियो, जसले विश्व बजारमा ठूलो प्रभाव पारेको थियो।
पछिल्लो घटनाले खाडी क्षेत्रको सुरक्षा र विश्व ऊर्जा आपूर्तिको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । विश्लेषकहरूले स्थिति थप जटिल हुन सक्ने चेतावनी दिएका छन्।



















































