एजेन्सी । इरानले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको सीएनएनका टोलीहरूले जनाएका छन् ।इरानको अर्धसरकारी समाचार एजेन्सी तास्मिन न्यूज एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोलुशनरी गार्ड (आईआरजीसी)ले इजरायल र मध्य पूर्वक्षेत्रका अमेरिकी अड्डामा छैटौँ चरणको मिसाइल र ड्रोन आक्रमण सञ्चालन गरेको छ ।इरानबाट प्रहार भएका मिसाइलहरू पहिचान गरेको र रक्षात्मक प्रणाली सञ्चालनमा रहेको इजरायली सेनाले जनाएको छ । मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए ।

दुबईमा पनि बिहानभरि धेरै विस्फोटको आवाज सुनेको र आकाशमा धुवाँ देखेको बताइएको छ । दुबईको व्यावसायिक बन्दरगाह जेबेल अली पोर्टमा ड्रोन अवरोधका भग्नावशेषले आगो लागेको छ ।कतारको दोहामा स्थानीय समय अनुसार बिहान ७ः३० बजे केही ठुलो विस्फोट सुनिएको थियो । कतारको गृह मन्त्रालयका अनुसार १६ जना घाइते भएका छन् र केही क्षेत्रहरूमा सामग्री क्षति सीमित भएको छ ।