काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारहरुलाई अपारदर्शी रुपमा आर्थिक सहयोग एवं चन्दा नदिन आग्रह गरेको छ । उद्योगी, व्यवसायीहरुलाई बहादुरभवनस्थित कार्यालयमा नै बोलाएर आयोगका पदाधिकारीहरुले सकेसम्म बैंक खाताबाट नै कारोवार गर्न र २५ हजारभन्दा कम चन्दा दिनुपरेमा अनिवार्य रुपमा रसिद काट्न आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले केही दिनअघि राजनीतिक दल एवं उम्मेदवारहरुका लागि बैंक खातासम्बन्धी कार्यविधि ल्याएर खाता खोल्न अनिवार्य गरेको थियो । उमेदवारहरुले खाता बाहिरबाट नगद कारोवार गर्न नपाउने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई आयोगमै बोलाएर यसपालीदेखि आर्थिक सहयोग र चन्दालाई अझ बढी पारदर्शी बनाउने प्रयास भएकाले सहयोग गरिदिन आग्रह गरिएको बताए ।
‘दलका प्रतिनिधि वा उम्मेदवारहरुले सकेसम्म खाताबाट कारोवारको साटो नगद सहयोगकै लागि आग्रह गर्न सक्छन् । तर तपाईंहरुले बैंक खाताबाट हुने सहयोगमै ज्यादा जोड दिनुहोला,’ आयोगका पदाधिकारीहरुले उद्योगी व्यवसायीहरुलाई गरेको आग्रह उद्धृत गर्दै उनले भने, ‘आर्थिक सहयोग पारदर्शी भयो भने त्यहीँबाट नै सुधारको शुरुवात हुनेछ भनेर यसपाली आयोगले ज्यादा जोड दिएको हो ।’



















































