झापा । झापा क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को पक्षमा एमालेका युवा नेताहरु खुल्न थालेको छन् । एमाले र नेपाली कांग्रेस पार्टी परित्याग गरी रास्वपामा प्रवेशको लहर लागेको छ। आज झापा क्षेत्र नम्बर ५ का उम्मेद्वार बालेन शाहको हातबाट घण्टी चिन्हको ब्याच लगाउँदै एमालेका जिल्ला सदस्य र नेपाली काङ्ग्रेसका जिल्ला सदस्यले रास्वपा प्रवेश गरेका हुन् । नेकपा एमालेका युवा नेता तथा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान महासचिव समेत रहेका अर्जुन मैनालीले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । त्यसैगरी नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एबम् बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेका हुन् । मैनालीले आज सामाजिक सञ्जालमार्फत रास्वपा नेता शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।उनले सार्वजनिक गरेको वक्तव्यमा आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन्। एमालेमा रहँदा सहयोग गर्ने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै आजकै मितिदेखि आफू रास्वपा पार्टीमा आबद्ध भएको जानकारी गराएका छन्।आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाताहरु समक्ष उम्मेद्वारहरु पुग्ने क्रम जारी रहेका बेला झापामा एमाले र कांग्रेसका नेताहरुले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।



















































