झापा । खेल क्षेत्रमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले काँकरभिट्टा महिला फुटबल क्लबले आगामी माघ २१ गतेदेखि `प्रथम काँकरभिट्टा महिला फुटबल प्रतियोगिता-२०८२´को तयारी गरेको छ ।
संस्था दर्ताको कानुनी प्रक्रिया पूरा गरेपछि प्रतियोगिताको तयारी गरेको संस्थाका अध्यक्ष कर्ण थापा मगरले शनिबार पत्रकार समक्ष जानकारी गराएका छ्न् ।
प्रतियोगितामा नेपाल तीन वटा र भारतका तीन वटा महिला फुटबल क्लबले सहभागिता जनाउने भएको जानकारी दिइएको छ ।
४ लाख खर्च अनुमान गरिएको महिला नकआउट प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८० हजार ट्रफि प्रमाणपत्र तथा दोस्रो हुनेलाई नगद ४० हजार ट्रफी प्रमाणपत्र प्रदान गर्ने जनाएको छ । प्रतियोगितामा उत्कृष्ट गोलकर्तालाई नगद ४ हजार, उत्कृष्ट खेलाडी नगद ५ हजार, म्यान अफ-दी म्याच नगद २ हजार राइजिङ प्लेयरलाई ३ हजार, उत्कृष्ट डिफेन्सलाई ३ हजार र उत्कृष्ट गोल किप्परलाई नगद ३ हजार प्रदान गर्ने अध्यक्ष थापाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मेचीनगरक निवर्तमान मेयर बिमल आचार्यले पहिलो पटक हुन लागेको महिला फुटबल नकआउट प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए । इष्ट होराइजन माबिका प्रिन्सिपल सन्जिव राईले फुटबल खेलमा महिलालाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगिताले पुर्वबाट राष्ट्रिय महिला खेलाडी उत्पादन हुने अवसर भएको बताए । काँकरभिट्टाको खेल मैदानमा आयोजना हुने प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने जनाएको छ ।
बिना तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन तथा सहजीकरण अध्यक्ष कर्ण थापा मगरले गरेका थिए ।