झापा । कोशी प्रदेशबाट राष्ट्रिय सभामा झापाका दुई जना निर्वाचित भएका छन् । दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र अल्पसंख्यक समूहअन्तर्गत रोशनी मेचे संघीय संसद्को माथिल्लो सदन अर्थात राष्ट्रिय सभाका लागि निर्वाचित बनेका हुन् ।
आइतबार सम्पन्न निर्वाचनमा पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै राष्ट्रिय सभाको ढोका खोलेका छन् । कांग्रेस–एमाले–जसपा गठबन्धनको समर्थनमा उम्मेद्वार बनेका उनी दलित समूहबाट निर्वाचित भए । झापाको हल्दिबारी स्थायी बासिन्दा पोर्तेल लामो समयदेखि एमाले संगठन र दलित आन्दोलनमा सक्रिय नेता हुन् ।
पोर्तेलको राजनीतिक यात्रामा ‘४७’ अंक संयोगझैँ जोडिएको छ । २०४७ सालमै अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी अहिले ४७ वर्षको उमेरमा राष्ट्रियसभा सदस्य बनेका छन् । यही निरन्तरताकै आधारमा उनले २०७४ पछि जिल्ला समन्वय समिति झापाको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेका विभिन्न तह पार गर्दै हाल प्रदेश कमिटी सदस्य रहेका पोर्तेल उत्पीडित समुदायको आन्दोलनमा २०५१ सालदेखि सक्रिय छन् । 
अल्पसंख्यकतर्फ निर्वाचित रोशनी मेचे पनि झापाकै प्रतिनिधि हुन् । मेचीनगर-११ धाइजनकी ४३ वर्षीया मेचेले ६४ प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रिय सभाको यात्रा तय गरिन् । उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो। झापामै ऐतिहासिक बसोबास रहेको मेचे समुदायकी प्रतिनिधि मेचे यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय सदस्यका रूपमा सिंहदरबार पुगिसकेकी थिइन् । यसपटक भने निर्वाचित सांसदको हैसियतमा माथिल्लो सदन प्रवेश गरेकी छन् ।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी मेचे हाल गोरखापत्र संस्थानमा कार्यरत छिन् । मेचे भाषाको समाचार संयोजन गर्दै आएकी उनी भाषा, शिक्षा र रोजगारीलाई राष्ट्रियसभामा मुख्य एजेन्डा बनाउने तयारीमा छन् ।
२०७८ को जनगणनाअनुसार पाँच हजारभन्दा केही बढी जनसंख्या रहेको मेचे समुदायबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुनु ऐतिहासिक उपलब्धि मानिएको छ।