मेचीनगर । झापाको मेचीनगर प्रेस क्लबद्वारा आयोजित `इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२´ को उपाधि तराइ प्रेस क्लब दार्जिलिङले उचालेको छ । सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै तराई प्रेस क्लब दार्जिलिङले उपाधि हात पारेको हो । खेलको हाफसम्म दुबै टिमले गोल गर्न सकेनन् । हाफपछीको २ मिनेट विजेता दार्जिलिङका प्रवेश भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै लगत्तै खेलको ४४ औँ मिनेटमा दार्जिलिङकै दावा लामाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, सिल्ड हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ हजार रुपैयाँ र सिल्डमा चित्त बुझाएको छ । खेलमा अन्तिम गोल गरेका दावा फाइनल खेलको म्यान अफ द म्चाय घोषित भए । उनले नगद ११ सय प्राप्त गरे । विजेतालाई समापन समारोहका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले पुरस्कृत गरेका थिए ।प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल घोषित भए । त्यस्तै उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोल किपर भद्रपुरकै सुजक राउत घोषित भए । प्रतियोगितामा सर्वाधिक गोल कर्ताको रुपमा विजेता तराई प्रेस क्लबका प्रवेश भुजेल पुरस्कृत भए । विधागतरुपमा उत्कृष्ट घोषित सबै खेलाडी जनही नगद १ हजार पाँच सय तथा ट्रफिद्वारा पुरस्कृत गरिएको थियो । प्रेस क्लब मेचीनगरद्वारा आयोजना गरिएको दुई दिने प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका रहेको थियो । मिडिया कपमा भारतका २ तथा नेपालका ६ गरी ८ वटा प्रेस क्लब सहभागी थिए । प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक खगेन्द्र घिमिरेले स्वागत तथा आयोजकका सचिव प्रविण अधिकारीले सञ्चालन गरेका थिए ।