मोरङ । मोरङको सुन्दरहरैंचामा जंगली हात्तीको आतंक बढेको छ। केहीदिनयता जंगली हात्तीले स्थानीयको घर भत्काएर अन्नपात खान थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका हुन् । हात्तीले सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको घाइते बनाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै सुन्दरहरैचा-६ मा सुतिरहेका बालक पंकज जैनलाई हात्तीले आक्रमण गरी घाइते गम्भीर बनाएको छ ।
त्यो घटना सेलाउन नपाउँदै शुक्रबार साँझ ७ः४५ बजेतिर फेरी सुन्दरहरैँचा-६ मा जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक चौतारीमा बसिरहेको बेला मान बहादुरलाई हात्तीले आक्रमण गरेको थियो।
आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनको मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले दमकल र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाईएको सुन्दरहरैचा-६ का वडा अध्यक्ष सन्तोष लिङ्देनले जानकारी दिए। वडा अध्यक्ष लिङ्देनका अनुसार बस्तीमा पसेर हात्तीले घर भत्काइदिन थालेपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए ।आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले सुन्दरहरैंचाका बिभिन्न क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ। यस्तै जिल्लाकै सुन्दरहरैँचा ५, ६, ७, ८, ९, १०, ११ र १२ का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित भएको उनीहरुको भनाई छ । वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरको खाद्यान्नपात खाइदिने र धपौने क्रममा मानवीय क्षति हुने गरेको सुन्दरहरैचा ६, डिपु टोल विकास संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठले बताए।

















































