झापा । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुन लागेको हो । विधानसभा निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा नोभेम्बर ११ तारिख अर्थात् कार्तिक ११ गते मतदान हुने भएपछि नेपाल-भारत नाका बन्द हुने भएको हो । भद्रपुर–गलगलिया सीमा नाका किशनगञ्ज जिल्ला अन्तरगत परेकोले नोभेम्बर ८ तारिख साँझ ५ बजेदेखि नोभेम्बर ११ तारिख साँझ ५ बजे (कार्तिक २२ गते शनिवारदेखि कार्तिक २५ गते मंगलबार) सम्म बन्द गरिने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी दयाराम पौडेलले जानकारी दिए ।

सीमा बन्द गर्ने विषयमा भारतीय सुरक्षा निकायसँग मौखिक छलफल भइसकेको बताउँदै डीएसपी पौडेलले भने, ’७२ घण्टा सीमा नाका पूर्ण रुपमा बन्द गरिन्छ, भारतीय पक्षले त्यसबारेमा पत्राचार पनि गर्नेछ ।’ अतिआवश्यक कामबाहेक दुवै देशका नागरिकलाई सीमा प्रवेशमा निषेध गरिने उनको भनाई छ । साथै विधानसभा निर्वाचनलाई मध्यनजर गरी नेपाल र भारतका सुरक्षाकर्मीहरूले संयुक्त रुपमा सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । विधान सभा निर्वाचनसँगै सीमा हुने असुरक्षा, लागूऔषधको बेचबिखन, ओसारपसार र चोरी तस्करी बढेपछि नियन्त्रणका लागि दुवै तर्फबाट संयुक्त गस्तीलाई तीव्रता दिइएको जनाइएको छ ।