झापा । झापा जिल्लामा रहेका स्थानीय तहले सञ्चारमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने मागसहित सात बुँदे माग राख्दै नेपाल पत्रकार महासंघ झापाले ज्ञापन पत्र बुझाएको छ ।
अभियान अन्तर्गत आइतबार बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन र बाह्रदशी गाउँपालिका अध्यक्ष देवेन्द्र चौलागाईँ समक्ष ज्ञापनपत्र बुझाइएको छ । 
ज्ञापनपत्रमा सञ्चारमैत्री नीति तथा कानुन निर्माण र कार्यान्वयन, स्थानीय सञ्चार माध्यमलाई संरक्षण, विज्ञापन तथा सन्देशमूलक कार्यक्रमको पहुँच, सञ्चारकर्मीको स्वास्थ्य बीमा, क्षमता अभिवृद्धि तालिम, मिडिया साक्षरताका लागि बजेटको व्यवस्था, पत्रकार सहारा उपचार कोषमा सहयोग, भौतिक पूर्वाधार तथा उपकरण खरिदमा सहायता, साथै खोजमूलक पत्रकारिता तथा लेखनवृत्तिका लागि बजेट सुनिश्चित गर्न माग गरिएको छ।
महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा भएको कार्यक्रममा उपाध्यक्ष सुव्रत न्यौपानेले ज्ञापनपत्र बाचन गरेका थिए भने महासंघका सचिव राजु पाठकले सहजीकरण गरेका थिए।
ज्ञापनपत्र ग्रहण गर्दै तीनवटै पालिकाका प्रमुखहरूले नगर र गाउँपालिकाको स्रोत साधनअनुसार सञ्चार क्षेत्रको सुदृढीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महासंघका अध्यक्ष गिरीले बाँकी रहेका स्थानीय तहहरूमा पनि भोलिसम्म ज्ञापनपत्र बुझाइसकिने जानकारी दिएका छन्।ज्ञापन पत्र बुझाउन महासंघकी महिला उपाध्यक्ष विनिसा शर्मा, सहसचिव रमेश तिवारी, कार्यसमिति सदस्य विनोद पाण्डे, देवेन्द्र प्रसाई, पत्रकार लीला अनमोल, टिकाराम बास्तोला, कार्यालय सचिव अनुसा चुडालको सहभागिता रहेको थियो ।





















































