भद्रपुर । चिकित्सकको लापरवाहीले मृगौला रोगीको मृत्यु भएको भन्दै मृतक परिवारले आरोप लगाएका छन् । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा भद्रपुर नगरपालिका वडा नम्वर ४ वस्ने २८ वर्षीय सोम योङहाङ लिम्वू मृगौला रोगसम्वन्धी विरामी भई चैत १८ गतेदेखि उपचार गराउदै आएका थिए । उपचारको क्रममा गएराति ९.५० बजे उनको मृत्यु भएपछि मृतकका आफन्तहरुले विवाद गरेका हुन् । अन्दाजी २०-२५ जना भेला भई चिकित्सकको लापरवाहीले मृत्यु भएको र कार्वाही गर्नुपर्ने भन्दै विवाद गरेका थिए ।

विवाद भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङको कमाण्डमा १७ जना र वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा ७ जनाको टोली खटिएको थियो । राति सम्झाइ वुझाई विवाद रोक्न लगाइएको र त्यसबारे आज छलफल हुने भएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । आन्दोलित मृतकका आफन्तले शव नबुझेको जनाइएको छ ।