झापा । रिडर्स झापाले पाँचौं संस्करणको ‘कला साहित्य उत्सव २०८१’ को मेचीनगरमा तयारी गरेको छ ।
आगामी फागुन १४, १५ र १६ गते काँकरभिट्टामा आयोजना गर्ने मा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतको सहभागिता रहने शनिबार पत्रकारसमक्ष जानकारी दिइएको छ ।
उत्सवमा भारतको कोलकाताका अर्का अभियन्ता डा. देवल देव र नेपालका वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ लगायतको सहभागिता रहने रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले बताए ।
उत्सवमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता बाचन र प्यानल डिस्कसन लगायतका कार्यक्रमहरु सञ्चालन हुने उनले जानकारी दिए । भारतको लद्दाखदेखि दिल्लीसम्म आमरण अनसन लगायतका कार्यक्रम गरेर चर्चामा रहेका सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा नयाँ प्रविधिको विकास समेत गरेका छन् ।
त्यसैगरी, कोलकाताका डा. अनिल देवले धानका दुईसय रैथाने प्रजातिको खोज अनुसन्धान र संरक्षण गरेर चर्चा पाएका छन् । उनले एक सय प्रकारका रैथाने धानको बीउ समेत उत्सवमा प्रदर्शनीका लागि ल्याउने भएका छन् ।
रिडर्स झापाको २०६५ मा स्थापनापछि पठन संस्कृतिको विकास गर्ने उद्देश्यले भएको थियो । यसले वि.सं. २०६९ देखि प्रत्येक दुई वर्षमा चिन्तन मेलाको रुपमा कला साहित्य उत्सवको आयोजना गर्दै आएको छ । कोरोना महामारीमा भने उत्सव स्थगित भएको थियो ।
कार्यक्रममा १२ वटा छलफल सत्र रहने र त्यहाँ ३० जना विज्ञले सम्भाषण दिने उत्सव आयोजक कमिटीका संयोजक सागर शिवाकोटीले जानकारी दिए । उत्सवलाई देही आर्ट, चरा तथा बन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरले सहकार्य गरेका छन् । उत्सव अवसरमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी र नाटक मञ्चन गरिने जनाइएको छ ।
नेपाली वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ शीर्षकमा बोल्ने तथा भारतीय पर्यावरण अभियन्ता सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा भइरहेको आन्दोलन र त्यसका उपलब्धिका बारेमा चर्चा गर्ने जनाइएको छ । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना हुने उक्त उत्सवमा १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।























































