मेचीनगर । झापाको चारआलीमा भब्य रुपमा म्युजिक फेस्ट २०२५ आयोजनाको तयारी तिव्र बनाएको छ ।

बज्र इभेन्ट्सको आयोजना रहने सांगीतिक कार्यक्रममा विभिन्न संस्थाले सहयोग तथा प्रायोजन गरेर तयारी तीब्र बनाएको हो ।
चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो बनको मैदानमा फागुन ९ -(फेब्रुअरी २१) हुने कार्यक्रमको प्रमुख आकर्षणका रूपमा `जोन एण्ड द लोकल्स´ को दमदार प्रस्तुति रहने जनाएको छ ।
कार्यक्रमका लागि तयारी थालिएको आयोजकले शनिबार पत्रकारसमक्ष जानकारी दिइएको छ । महोत्सव सम्पन्न गर्न करिव १७ लाख रुपैया लाग्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रममा प्रवेश शुल्क भने ५००, १००० र ३५०० रुपैया निर्धारण गरिएको छ ।
विश्वका विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको यो चर्चित ब्यान्ड नेपाली सङ्गीतप्रेमीहरू माझ अत्यधिक लोकप्रिय भएको र त्यसको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएको समेत जनाएको छ ।
सङ्गीत महोत्सवले सङ्गीत, संस्कृति, र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने उद्देश्य राखिएको आयोजक संस्था बज्र इभेन्ट्सका अध्यक्ष फुर्वा लामाले बताए ।
चारआली म्युजिक फेस्ट २०२५ बाट बचेको रकमले मेचीनगरको फ्रिडम फाउण्डेसनलाई सहयोग गर्दै सामाजिक हितका कार्यक्रमहरूलाई प्राथमिकता दिइने उनको भनाई छ ।
कार्यक्रममा लागूऔषध प्रयोगकर्ताहरूलाई कुलतबाट मुक्त गराउन उपचार र परामर्श गर्दै आएको फ्रिडम फाउण्डेसनको प्रस्तुति समेत रहने त्यसका सञ्चालक सन्दिप थापा बताए ।
चारआली म्युजिक फेस्ट बाट सङ्कलित पूँजीलाई लागूऔषध तथा दुर्व्यसन नियन्त्रण, स्थानीय पर्यटन प्रवर्द्धन, र स्थानीय कलाकारहरूको उत्थान जस्ता सामाजिक कार्यहरूमा लगानी गरिने महोत्सव आयोजकका महेश गहतराजले जानकारी दिए ।
यस महोत्सवले स्थानीय कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्नेछ, जसले उनीहरूको कला संसारभर चिनाउने अवसर प्राप्त हुनेछ ।“अध्यक्ष लामाले सम्पूर्ण सङ्गीत प्रेमीहरूलाई यो ऐतिहासिक क्षणको साक्षी बन्न चारआली म्युजिक फेस्ट २०२५ मा उपस्थित हुन आग्रह गरेका छन्।
स्थानीय आर्थिक कमजोर अवस्थाका समुदायलाई आर्थिक, सांस्कृतिक, र सामाजिक रूपमा सशक्त बनाउने महत्त्वपूर्ण कार्यक्रम बन्ने अपेक्षा गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा आकास तामाङ, राजेन्द्र उप्रेती, सन्दिप थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विशाल घिसिङले गरेका थिए ।