मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय खाेप कार्यक्रम `एचपिभि खाेप अभियान २०८१´ लाई अनिवार्य गर्न पालिकास्तरीय खाेप समन्वय समितिले जोड दिएको छ ।
एकदिने अभिमुखीकरणमा नगरभित्र खोपसहित अभियान-२०८१ लाई सफल बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाकाे सभाहलमा नगर उपप्रमुख मीना पाेख्रेल उप्रेतीकाे अध्यक्षतामा आयाेजना गरेकाे कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले पाठेघरकाे मुखकाे क्यान्सर राेगकाे अवस्था, एचपीभी खाेप र अभियानकाे ओैचित्यमाथि प्रकाश पारिन् । 
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरीहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सर निवारण गर्नमा योगदान पुर्याउनु अभियानको मुख्य उदेश्य रहेको बताइन् ।
उनले नगरभित्रका सामुदायिक तथा नीजि विद्यालयका कुल ५ हजार ९ सय ८२  जना छात्रा तथा विद्यालय बाहिरका कुल १ हजार ८२ गरी कुल ७ हजार ६४ जनालाई याे खाेप दिने लक्ष्य रहेकाे उनले बताइन् । त्यसको लागि मेचीनगरमा १७२ वटा केन्द्र मार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले २२ देखि २९ गतेसम्म सञ्चालन हुने जनाइन् ।
साथै यो खोप एक पटक लगाएपछि जीवनभर लगाउनु नपर्ने भएकाले सबै लक्षित किशोरीहरूलाई एचपीभी खोप अनिवार्य लगाउन सबै क्षेत्रले साथ र सहयोग गर्नुपर्ने बताइन् ।