धुलाबारी । झापाको मेचीनगर-१० स्थित नन्द पेट्रोल पम्प परिसरमा मेचीनगर-९ का धर्मप्रसाद ओलीमाथि भएको साङ्घातिक कुटपिट घटनामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओलीलाई सार्वजनिक स्थलमै सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाइएको विषयमा ‘अनुगमन अनलाईन ’ले समाचार प्रकाशित गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मुनाल सेक्युरिटी सर्भिसमा संलग्न आशिष लिम्बू, आयुष तामाङ, पासाङ तेन्जिङ तामाङ र नाबालक आवास तामाङलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामध्ये तीन जनालाई पाँच दिनको म्याद थप गरेको छ भने नावालकलाई सजाय अधिकारका लागि अघि बढाएको छ ।
गत भदौ १७ गते साँझ नन्द पेट्रोल पम्प परिसरमा हनुमान सेक्युरिटी कम्पनीमार्फत कार्यरत ओलीमाथि मुनाल सेक्युरिटी कम्पनीका कर्मचारीसहितको समूहले कुटपिट गरेको आरोप छ । घटनापछि ओलीकी श्रीमती पुष्पा गौतमले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिएकी थिइन् ।
कुटपिटबाट ओलीको नाकको भित्री डाँडीको हड्डी भाँचिनुका साथै चार वटा दाँत झरेको, एउटा दाँतमा क्याप लगाउनुपरेको तथा छातीमा समेत भित्री चोट लागेको बिर्ता सिटी अस्पताल प्रशासनले जनाएको छ ।
घटनामा संलग्न भनिएका कुमार नरेन्द्र तामाङसहित अन्य व्यक्तिमाथि समेत अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन पीडित पक्षले माग गर्दै आएको छ ।
पीडित ओलीले आफूलाई कुनै कारणबिना सार्वजनिक स्थलमा सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाइएको भन्दै घटनामा संलग्न सबैलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन् ।






















































