झापा । बोडो वा मेचे समुदायमा पुस्तौँदेखि प्रचलनमा रहेको परम्परागत कुस्ती खेल ‘खोमलैनाइ’ को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले झापामा प्रयास स्वरुप प्रशिक्षण सम्पन्न गरिएको छ । बोडो समुदायको मौलिक संस्कृति, शक्ति र खेलकौशलसँग जोडिएको यो कुस्ती निःशस्त्र तथा विशेष नियममा आधारित खेल खेलाउने उद्देश्यले प्रशिक्षण दिइएको हो ।
मेचे समुदायको पौराणिक खेललाई संरक्षण गर्ने उद्देश्यले झापाको मेचीनगर-११ मा रहेको मेचे सिबियारी आफात समितिले खेलको प्रवर्द्धन गर्न छ दिवसीय प्रशिक्षण सम्पन्न गरेको हो ।
गत भदौ २५ गतेदेखि सुरु भएको प्रशिक्षणमा पाँच जना महिलासहित २० जनाले सहभागिता जनाएका थिए । उक्त छ दिने प्रशिक्षणमा भारतको आसमस्थित कोकराझारको बोडो कुस्ती खेल ‘खोमलैनाइ’ का प्रशिक्षकबाट सहजीकरण गरेको खेल संयोजक वा वरिष्ठ प्रशिक्षक कालू मेचेले जानकारी दिए।
जिल्ला खेलकुद बिकास समितिका वरिष्ठ खेल प्रशिक्षक कालूको अध्यक्षता तथा आसमका प्रमुख प्रशिक्षक अजित वस्मतारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण समापन कार्यक्रममा खेलकुद विकास समिति झापाका अध्यक्ष शेखर कडेँल, मेचे सिवियारी आफात समितिका अध्यक्ष विरेन मेचेलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा कराँते प्रशिक्षक शौरभ प्रधान, भारत आसमका ५ जना प्रशिक्षकहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सुमन बस्मतारीले गरेका थिए ।
‘खोमलैनाइ’ कुस्ती खेलको ऐतिहासिक अवस्था:
ऐतिहासिक रूपमा बोडो राज्यमा राजाको संरक्षणमा खोमलैनाइ खेलिने गरेको उल्लेख छ। बोडो समुदायका पौराणिक वीर द्विमालुले राजा दैमालको दरबारमा आएका दुई विदेशी कुस्ती खेलाडीलाई पराजित गरेको कथासमेत यस खेलसँग जोडिएको जानकारहरु बताउछन् ।
सन् १९९७ र सन् २००७ मार्चमा कोकराझारस्थित क्याम्पसमा आयोजना गरिएको खोमलैनाइ प्रतियोगिताले पनि यस खेललाई व्यापक बनाएको थियो । खोमलैनाइको आफ्नै विशिष्ट नियम र खेल क्षेत्र हुन्छ। चार मिटर त्रिज्या भएको गोलाकार अखडालाई तीन भागमा विभाजन गरिन्छ। अखडाको केन्द्रमा २२ सेन्टिमिटर त्रिज्याको ‘नोखोर’ नामक सानो घेरा हुन्छ।
खेलाडीले कम्मरदेखि तिघ्रासम्म ढाक्ने गाम्छा लगाउने तथा कम्मरमा जुटको डोरी प्रयोग गर्न सक्ने व्यवस्था छ। हातमा परम्परागत ‘खाचिनी’ लगाउने गरिन्छ। कुस्तीका क्रममा विपक्षीलाई तान्ने र धकेल्ने लगायतका विभिन्न विधि प्रयोग हुन्छन्। ‘ब्वनाइ’ अर्थात् तान्ने विधिमा विपक्षीलाई पहिलो घेराभन्दा बाहिर पुर्याउँदा १, बीचको घेराभन्दा बाहिर पुर्याउँदा ३ र अन्तिम घेराभन्दा बाहिर पुर्याउँदा ५ अंक प्राप्त हुने व्यवस्था छ।
आगामी डिसेम्बरमा भारतमा हुने प्रतियोगितामा नेपालबाट खेलाडीले सहभागिता जनाउने जनाएको छ ।






















































