मेचीनगर । नागरिकलाई क्षयरोग मुक्त बनाउन झापाको मेचीनगरले अभियान सुरु गरेको छ ।
क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत मेचीनगर-१० स्थित आधारभुत स्वास्थ्य अस्पतालमा एआई एक्सरे प्रविधि उपकरण प्रदान गरेको छ ।
एक्सरे उपकरण बिहिन बनेको आधारभुत अस्पतालले उपकरण पाएपछि नगरबासीले एक्सरे सेवा लिन अन्य अस्पताल धाउनुपर्ने बाध्यतामुक्त भएको छ ।
झापा पनि क्षयरोगको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । मेचीनगर पनि अछुतो छैन । त्यसैलाई मध्यनजर गर्दै मेचीनगरले ‘स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रमहरू अगाडि बढाएको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताए ।
रोग पालेर होइन निको पारेर अगाडि बढ्नुपर्ने बताउँदै उनले क्षयरोग निवारणका लागि सबै लागि पर्नुपर्ने बताए ।
गरीबी, बसाइँसराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएकाले त्यसलाई अभियान अन्तरगत नियन्त्रण गर्ने योजना सुरु गरेको मेयर बुढाथोकीको भनाई छ ।
। स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएकाे मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती बताउँछिन् । यसले पनि अब मेचीनगरमा क्षयरोगको अन्त्य गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटाले बताइन् ।
पहिलो दिन दुइस्य ६७ जनाले एक्सरे, तीन सय जनाको रगत र पिसाबको नि:शुल्क जाँच गरिएको थियो ।
उनले कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर लागि परिरहेको जनाइन् ।
सरकारले दीगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियान थालेको छ ।