बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर-४ स्थित हापेन चोकमा मेची राजमार्गमा बोलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरीत दिशाबाट आइरहेको अटो प्र.१-०१-००२ ह ३६३ आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परि अटोमा सवार बुद्धशान्ति गाउँपालिका वडा नम्बर-४ की २७ वर्षीय अमृता तामाङको मृत्यु भएको छ। घाइते अवस्थामा भद्रपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएकी तामाङलाई चिकित्सकले बिहान ११:४५ बजे मृत घोषणा गरेका हुन्। घटनामा अन्य तीनजना घाइते भएका छन्। अटोमा सवार २१ वर्षीया कृतिका तामाङको अनुहारमा चोट लागेको छ भने ४१ वर्षीया मञ्जु तामाङको दायाँ खुट्टामा चोट लागेको छ।
बोलेरोका चालक मेचीनगर नगरपालिका-१२ निवासी ४० वर्षीय दिलकुमार माझीको दायाँ हातमा चोट लागेको छ।
तीनै जनाको उपचार बुधबारेस्थित सिटी अस्पतालमा भइरहेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी निरीक्षक सुवास शेर्पाको नेतृत्वमा टोली खटिएको थियो। दुवै सवारीसाधन र अटो चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ।
उक्त दुर्घटना स्थल इलाका प्रहरी कार्यालय बुधबारेबाट करिब ३ किलोमिटर दक्षिणमा पर्छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।