पर्सा । पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा हतियार तथा गोली बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तु विहार चोक नजिक शंकास्पद अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कारलाई सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा कारभित्र लुकाइराखिएको अवस्थामा दुई थान सिक्सर, दुई थान कट्टुवा पेस्तोल र ७.६२ एमएम एसएलआरका ६ राउण्ड गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
हतियार तथा गोली बरामद भएपछि कारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ। बरामद सामग्री थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
कारमा हतियार कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।






















































