इलाम। देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँ–देउराली भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा गाडीले थिचेर देउमाई–१ चमैताका अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सूचना बिहान ६ बजे प्राप्त भएपछि प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो। गाडीमा चालक बस्नेत एक्लै सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक सन्तोषकुमार राईको नेतृत्वमा सोको टोली खटिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















































