मेचीनगर । चोरी र लुटपाटका घटना बढेपछि सर्वसाधारण चिन्तित बनेका छन् । दिन र रातको समयमा घरायसी सामान चोरले लुटेर लगेपछि उनिहरु चिन्तित बनेका हुन् । घरभित्र र बाहिर प्रयोग अवस्थामै राखिएका सामाग्री चोरले लुटेर लगेपछि पुनः सामान जडान गर्न आर्थिक भार पर्ने र सुरक्षित नहुँने भएकाले भयावह अवस्था बनेको उनिहरुको गुनासो छ ।
झापाको मेचीनगर-१०, १३ र १४ को चारआली, धाइजन, दुहागढी, पुरानो ढाँट आसपासमा निरन्तर चोरीका बढेपछि त्यहाँका सर्वसाधारण चिन्तित बनेका हुन् । गयराती स्थानीयले कृषि पेशाका लागि बोरिङमा जडित पानीतान्ने मोटरसहित कलमा जडान गरेको चार वटा पानीतन्ने मोटर चोरी भएको छ ।
उक्त बोरिङमा जडान गरेको मोटर र कलमा जडान गरेर राखेको पानीतन्ने मोटर स्थानीय मोहन प्रसाईको हो । तस्तै राधिका प्याकुरेल र कृष्ण प्रसाईंको कलमा जडान गरेको पानीतन्ने मोटर चोरले लुटेको छ। प्रसाईंले कृषि प्रयोजनका लागि बोरिङको पानी तान्ने मोटर ४५ हजारमा जडान गरेका थिए ।
अघिल्लो रात स्थानीय कृष्ण थापाको घरभित्र पसेको र चोर्दाचोर्दै गरेको अवस्थाबाट चोर भाग्न सफल भएको थियो । यसअघि पनि चोरले थापाको घरबाट ३ वटा मोबाइल, आशा उप्रेतीको घरबाट २ वटा मोबाइल र नगद, राम लामिछानेको एउटा मोबाइल, तुलसी लामिछानेको घरबाट नगद र खाद्यान्न लुटेको थियो ।
धाइजनमोडमा घुम्ती पसलको समाग्री, पानीको धारामा जडान गरेको मिटर, धारा, पानीतन्ने मोटर, साइकल, मोबाइल चोरी हुँदै आएपछि कतिबेला कुन बहुमुल्य सामान लुटिने हो भन्ने त्यहाँका सर्वसाधारणमा त्राससँगैआक्रोश पनि बढेको पाइन्छ ।
घरभित्र राखिएको अवस्थामा मोबाइल, ल्यावटप, घडी, फेन, भान्साका सामाग्री र बाहिर राखिएको पानी तान्ने कल, त्यसमा जडान गरेको मोटर, किसानले बोरिङमा जडान गरेको मोटर, धाराको टुँटि, मिटर, पसलमा राखिएको सामग्री, पशु चौपायालगायत चोरी हुँदैआएको छ ।
आफ्नो धनमाल लुटिँदा र लुटेराको सामना गर्दा सर्वसाधारण त्रासितमात्रै बनेका छैनन् उनिहरु दोहोरो मारमा पनि परेको उनिहरुको भनाइ छ । दैनिक प्रयोजनका सामग्री दिउँसो र रातको समयमा चोरी भएपछि सर्वसाधारणले न्यायको आशमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालयमा निवेदन दिने गरेका छन् ।
कार्यालयमा निवेदन परेपछि त्यसको आधारमा प्रहरीले अनुसन्धान पनि अघि बढाउँदै आएको प्रहरीको भनाई छ । उसले आशंकाको आधार केही ब्यक्तीलाई नियन्त्रण गरेपनी लागुऔषध प्रयोगकर्ता सुद्रिन मौका भन्दै छोडिदिएर प्रहरी पन्सिने गरेकाले प्रहरीको कार्यशैलीप्रती सर्वसाधारणको बिश्वास घट्दै गएको उनिहरुको भनाई छ ।
प्रहरी कार्यालयमा निवेदन गरेपनी जनअपेक्षा गरेअनुसार लुटेरा पक्राउ गर्न सफल नभएको पीडित सर्वसाधारणले गुनासो गरेका छन् । प्रहरीको कार्यशैली निश्कृय हुँदा एकातिर चोरीका घटना वृद्धिले सास्ती खेप्नु परेको छ भने अर्काेतिर नागरिक असुरक्षित भएको महसुस गरिरहेका छन् ।
दुख गरेर जोडेको जिन्सी सम्पती दिनदहाडै र राति लुटिँरहदा नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीको ध्यान चोरी नियन्त्रण भन्दा अशुली धन्दामा पुगेकाले लुटपाट र चोरीका बढेको सर्वसाधारणको तर्क छ ।