चारआली । संघीय वन तथा वातावरणमन्त्री एनबहादुर शाही (ठाकुरी)ले निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रलाई पुर्वको नमूनाको रुपमा विकास गर्न लायक हुने बताएका छन् ।
निर्माणाधीन अवस्थामा रहेको निचाझोडा सिमसार स्थलमा मंगलबार अवलोकनपछि संघीय वन तथा वातावरणमन्त्री शाहीले त्यहाँको भौगोलिक बनावटको अवस्था हेर्दा नमूनाको रुपमा विकास गर्न लायक भएको बताएका हुन् । मन्त्रीको सपथ खाएपछि पहिलो पटक झापामा आएका मन्त्री शाही पाउँ पाथीभरा मन्दिरपछि निचाझोडा सिमसार स्थलमा पुगेका हुन् । समयको ब्यस्ततामै पनि सुख्खा मौसममा पनि नसुकेको सिमसारमा पानीको अवस्था र सामुदायिक वनको मध्यभाग अवस्थित रहेकाले पनि पर्यटकको आकर्षकको रुपमा बिकास आवश्यक महसुस गरेको बताए ।
उनले संघीय सरकारले आउने बजेटमा यसको बिकासका लागि समावेश गरेर जाने बताएका थिए । मन्त्री शाहीसँग कोशी प्रदेशका पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डललाई संघीय सांसद बिस्वप्रकाश शर्माले निचाझोडा क्षेत्रमा लोपोन्मुख चराको हव रहेको जानकारी गराएका थिए ।
त्यस्तै हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल र यमाकन्त प्याकुरेलले सामुदायिक वन तथा निर्माणाधीन अवस्थाको जानकारी गराउँदै थप बिकासका लागि बजेट आवश्यक रहेकोसमेत संघीय वन तथा वातावरणमन्त्री महतोलाई ध्यानाकर्षण गराएका थिए ।सो अवसरमा कोशी प्रदेशका पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलले निचाझोडाको विकासमा आवश्यक बजेटका लागि समितिलाई प्रस्ताव लिएर प्रदेश मन्त्रालयमा आउन आग्रह गरेका थिए । अवलोकनमा डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई, नेपाली काङ्ग्रेसका जिल्ला सभापति देउमान थेवे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, वनका कर्मचारीहरु सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।