झापा । मंसिर २९ गतेदेखि डोमालाल रंगशालामा हुन लागेको ‘झापा कप–२०८१’ को खेल तालिका बिहीबार सार्वजनिक गरिएको छ । झापा–११ फुटबल क्लबले अन्तर्राष्ट्रिय नकआउट फुटबल टुनामेन्ट अन्तरगत `झापा कप–२०८१’ को खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताका संयोजक केशवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्डकप अध्यक्ष अध्यक्ष बिनोद बस्नेत, झापा कप २०८१ का सल्लाहकार सन्तोष थोप्रा, खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियाले एकैसाथ प्रतियोगिताका लागि सहभागी फुटबल टिम र खेल तालिका सार्वजनिक गरेका थिए ।
तालिका अनुसार प्रतियोगितामा आयोजक झापा-११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौंको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, ईटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।
यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने भएका छन् । मंसिर २९ गते सुरु हुने प्रतियोगिताको फाइनल पुस–८ गते हुने जनाएको छ । प्रतियोगिता अवधिभर १० हजार जना दर्शक अटाउने क्षमताको बेम्बो प्याराफिट निर्माण, खेल मैदान मर्मत लगायतको काम सम्पन्न भएको आयोजकका संयोजक दाहालले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ भने उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने समेत आयोजक समितिका संयोजक दाहालले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोल किपर एकजनालाई खेलाडीलाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ठ एकजना खेलाडीलाई मष्ट भ्यालुएबल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने झापा–११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।



















































