झापा। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले निलम्बन गरेको १०० दिन पूरा भए पनि निलम्बन अझै फुकुवा हुन सकेको छैन। लामो समयसम्म फुकुवा नहँदा फुटवल क्षेत्रमा ठूलो असर पर्दै आएको छ ।
फिफाले गत जुन २४ मा एन्फाको प्रशासनमा ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अनिश्चितकालका लागि निलम्बन गरेको थियो। निलम्बनपछि नेपाली राष्ट्रिय टोली तथा क्लबहरूले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन्। एन्फा तथा उसका सदस्य र पदाधिकारीले फिफा–एएफसीका विकास कार्यक्रम, प्रशिक्षण तथा आर्थिक सहयोगसमेत गुमाएका छन्।
फिफाले निलम्बन फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद्को मार्च २५ को निलम्बन निर्णय पूर्ण रूपमा फिर्ता गर्न, एन्फाको वर्तमान कार्यसमिति पुनर्बहाली गर्न र एन्फाले सुरु गरेको निर्वाचन प्रक्रिया आफ्नो विधानअनुसार अघि बढाउनुपर्ने बताएको छ। सरकारले फिफासँग समस्या समाधानका लागि पहल भइरहेको बताउँदै आए पनि १०० दिन बितिसक्दा ठोस समाधान हुन सकेको छैन। निलम्बनका कारण नेपाली फुटबल गतिविधि प्रभावित हुँदै आएको छ।
यसबीच नेपालले नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपसमेत गुमाउने निश्चित भएको छ। साफले दिएको सेप्टेम्बर ३० सम्मको समयसीमाभित्र फिफाको निलम्बन फुकुवा हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।





