झापा । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारिका लागि बिदेश जान हवाई टिकट शुल्क महँगो भएको भन्दै आपत्ति जनाएको छ । संघले महँगोमा हवाई टिकट खरिद गर्नुपरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।
बुधबार संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा कार्यसमिति पदाधिकारी तथा सदस्य, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका प्रतिनिधिसहितको टोलीले मन्त्री भण्डारीलाई भेटेर उक्त ध्यानाकर्षण गराएको हो ।
आगामी शुक्रबारदेखि करिब ५ महिनासम्म त्रिभुवन विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोट्याइएपछि नेपालबाट प्रमुख श्रम गन्तव्य मुलुकहरूमा उडान भर्ने एयरलाइन्सहरूले हवाई टिकट भाडामा अस्वभाविकरूपमा वृद्धि गरेका छन् । सामान्य अवस्थामा ३० देखि ३५ हजार रुपैयाँमा पाउने टिकटलाई हाल ८० हजारभन्दा माथि पुर्याइएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै संघले सरकारले एयरलाइन्स र ट्राभल्स एजेन्सीहरूमाथि अनुगमन र कारबाही नगरेका कारण हवाई भाडामा कालोबजारी भएको भन्दै अविलम्ब उपयुक्त कडा कदम चाल्नु पर्ने माग पनि गरेको छ ।
खाडीका प्रमुख श्रम गन्तव्य मुलुकमा हवाई भाडा ३० देखि ३५ हजार रुपैयाँ भए पनि उक्त मुलुकहरुमा रोजगारीमा जाने कामदार अत्यन्तै महँगो भाडामा पुगेको संघले जनाएको छ । भारतको नयाँदिल्लीबाट दुबईको २६ हजार ६ सय २३ देखि ३० हजार ४ सय ९४ रुपैयाँसम्म र बगंलादेशबाट २३ हजार ३२९ देखि २६ हजार २ सय १४ रुपैयाँ बराबरमा हवाई टिकट उपलब्ध भएको भन्दै नेपालमा मात्र सिण्डिकेट र कार्टेलिङ गरी कृत्रिम अभाव खडा गरेको संघको भनाइ छ ।
सरकारले फ्रि भिसा फ्रि टिकट नीति लागू गरेको अवस्थामा जहाजको टिकट अस्वभाविकरुपमा बढ्दा वैदेशिक रोजगारीको अवसरका साथै नेपाल आउने रेमिट्यान्समा समेत गम्भीररुपमा नकारात्मक असर पर्नेलगायत संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।