झापा । छठ पर्वको दोस्रो दिन (बुधबार) खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो ।
खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन् । त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन् । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस (खीर) लिने चलन रहेको ।
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खीर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाएर पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।
पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलपूmल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।