झापा । कोशी प्रदेशमा केहीदिन खुलेको मौसमपछि पुनः बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी प्रदेश बादलले ढाकिएको छ । यसको असर कोशीसहित मधेश, बागमती, र गण्डकी प्रदेशमा देखिने छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ, विशेष गरी कोशी प्रदेशमा।मौसमको यो बदली भोलि र पर्सीसम्म रहन सक्नेछ । यद्यपि ठूलो र लगातारको वर्षा हुने सम्भावना भने न्यून छ । तर, यसअघिको भारी वर्षाले भूभागहरू गलेको हुँदा थोरै वर्षाले पनि बाढी र पहिरोको सम्भावना बढेको छ। 

भारतको मध्य प्रदेश र वरपरको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको जनाइएको छ। आज राति कोशी लगायतका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

असोज १६ र १७ गते कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ, जसको लागि सतर्कता अपनाउन आवश्यक हुनेछ।