आइतबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको सानदार जित हात पारेको हो।
नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
पाकिस्तानकी ओपनर गुल फिरोजाले नेपालकी कविता जोशीको बलमा आउट हुनुअघि ३५ बलमा १० चौकाको मद्दतमा ५७ रन जोडिन्। अर्की ओपनर मुनिबा अलीले नटआउट ४६ रन बनाइन्।
त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो।
खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन्। कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन्।
त्यसपछि छैटौं विकेटका लागि कविता जोशी र पूजा महतोले ३४ रनको साझेदारी गरेपछि नेपाललाई राहत भएको थियो। अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि पूजाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन्।
कविताले नटआउट ३१ रन जोडिन्। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्।
बलिङमा पाकिस्तानकी सादिया एकबालले २ विकेट लिइन्।
पहिलो खेलमा युएईलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। पाकिस्तानलाई पनि सेमिफाइनलमा स्थान पक्का गर्न आजको खेल जित्नु पर्ने दबाब छ।
नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत पनि छ। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन्।
नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। नेपालले मंगलबार भारतसँग खेल्नेछ।
नेपालबाट रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा (कप्तान), कविता कुँवर, कविता जोशी, पूजा महतो, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेटकिपर), कृतिका मरासिनी, रोमा थापा मैदानमा उत्रेका छन् ।