मेचीनगर । झापाको मेचीनगरस्थित ड्राइगन युथ क्लबले बुधबारदेखि २ दिवसीय `हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट´ गर्ने भएको छ ।

नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै स्थानीय खेलाडीलाई  प्रोत्साहन र नयाँ खेलाडीको खोजी गर्दै क्रिकेट एकाडेमी बनाउने  उद्देश्यले टुनामेन्ट गर्ने भएको हो ।

उक्त टुनामेन्टको सम्पुर्ण तयारी भएको आयोजकले मंगलबार आयोजित पत्रकारसमक्ष जानकारी गराएको छ । 

भारतका २ वटा टिमसहित झापाका १६ टिमले सहभागिता रहने    जनाएको छ । टुनामेन्टमा प्रथम र द्वितीय घोषित टिमलाई ३० र २० हजार नगद ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष राजु धिमालले जानकारी दिए । खेल अवधिभर उत्कृष्ट खेलाडीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिने अध्यक्ष धिमालको भनाई छ ।

उक्त टुनामेन्टको सहआयोजक हिमालयन अंग्रेजी माबी रहेको छ भने इष्ट होराइजन माबी, पारीजात अंग्रेजी माबी र मेची क्राउण्डको आर्थिक सहयोग रहने छ ।

क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै खेलकुदको माध्यमबाट मानिसको जीवन बदल्दै राष्ट्रियस्तरमा नाम कमाउने भएकाले पनि उक्त खेल मैदानलाई `क्रिकेट एकाडेमी´ को रुपमा बिकास गर्ने मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले बताए ।

हिमालयन अङ्ग्रेजी माबीका प्रिन्सिपल जगत तामाङ मेचीनगर-९ मा क्रिकेट एकाडेमी बनेपछि आन्तरिक र बाहृय पर्यटन आगमन हुने भएकाले खेलाडीलाई प्रोत्साहनसहित स्थानीय ठाउँको बिकास गर्दै समाज बदल्न सक्ने धारणा राखेका थिए । मेचीनगर-९ का सद्स्य राजन खड्काले स्थानीय ठाउँको प्रबर्द्धन गर्न वडाले सबै क्षेत्रलाई उत्तीकै अवसर प्रदान गरेको बताएका थिए ।

खोला पसेर बगरमा परिणत भएको मेचीनगर-९ स्थित २० बिगाह  जमिनलाई खेलमैदानको रुपमा बिकास गरेको मैदान ब्यवस्थापन समितिका अध्यक्ष होमनाथ पौडेलले जानकारी दिए ।