बिर्तामोड । ए-डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजीत गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणमै घर फर्किएको थियो । पुलिस यो पटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।
आइतबारको खेलमा दुवै टिमको मिडफिल्ड चल्न सकेन । निर्धारित ९० मिनेटमा पुलिसले तीन र चर्च ब्वाइजले एउटा मात्र डेन्जर मुभ बनाउन सकेको थियो । तर, डिफेन्स लाइन र गोलकिपरको केही गल्तीका कारण पुलिस दबाबमा परेको थियो ।
खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।
पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताएका छन् । उनले नयाँ खेलाडीलाई अवसर दिँदा अनुभवको कमीसमेत देखिएको बताए ।
खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
सोमबार हुने पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ ।
फागुन २८ गते हुने गोल्डकपको फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।



















































