सुरुङा । कला, संस्कृति तथा साहित्य क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले झापाको कनकाई नगरपालिकामा प्रथम साहित्य महोत्सव आजबाट सुरु भएको छ । कन्काई-३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सोमबारबाट सुरु भएको हो ।
तीन दिनसम्म चल्ने उक्त कला महोत्सवमा एक कार्यक्रमबीच वरिष्ठ कलाकार निरविक्रम शाहले उदघाट्न गरेपछि सुरु भएको हो ।
रोटरी क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा भइरहेको यस कला सस्कृति महोत्सवमा स्थानीयदेखि राष्ट्रिय साहित्यकारहरुले आफ्नो रचना वाचन गर्नेदेखि लिएर कलाकार हिम्मत नेम्बाङ्ग र प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मुर्तिकला प्रदर्शनीका साथमा साहित्यकारहरु तुलसी दिवश, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, देवि नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षि, प्रदिप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगीका साथमा कलाकारहरु मनोज गजुरेल र रचना रिमालबाट गित तथा कविता लगायातका प्रस्तुतिहरु रहने आयोजक समितिका अध्यक्ष शिव कडेँलले बताए ।
साहित्य तथा साङगितिक प्रस्तुती र श्रवणका लागि झापा तथा छिमेकी जिल्ला र काठमाण्डौबाट समेत सर्जक र श्रोताहरु आउने र यस कार्यक्रमलाई हरेक ३ बर्षमा नियमित गरिने आयोजक समितिका संयोजक अखिल कोइरालाले बताए ।
साहित्य महोत्सवको उदघाटनपछि कलाकार निरविक्रम शाहले मानवजातिको उत्थान र प्रवद्धनमा मानवअधिकारकै रुपमा कला सस्कृतिको समेत बराबरी महत्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जिवनलले उत्प्रेरणा प्राप्त गर्ने बताए ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, समाजसेवी शेरबहादुर थापा लगायातले कला विना मानव जीवनको महत्व अन्धकार हुने भन्दै कलालाई मानवजीवनसग जोडनुपर्नेमा जोड दिए । स्थानीयदेखि राष्ट्रिय कलाकार तथा पशुपति अंग्रेजी मावि समेतका विद्यार्थीहरुले नृत्य लगायातका कलाकारिता प्रस्तुति गरिरहनुभएको छ । कनकाई सुरुङ्गाका विभिन्न स्थानहरु बाणिज्य संघ, कनकाई बहुमुखी क्याम्पस लगायातमा साहित्य महोत्सवको आयोजना गरिने रोटरी क्लवका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए।