झापा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहना बमोजिमको काम नगरेको आरोप लगाएका छन् ।

जनभावनाअनुसारको काम नगरेपछि  वर्तमान सरकारप्रती आफ्नो पार्टी असन्तुष्ट रहेको नेता खनालको भनाई थियो ।  

झापाको बिर्तामोडमा आज आयोजित पत्रकारहरुसँगको भेटमा नेता खनालले भने, ‘सरकारको काममा सन्तुष्ट हुने ठाउँ छैन । सरकारको बजेट र नीतिले जनतालाई छोएको छैन । जसले जनतामा असन्तुष्टि कायमै छ । जनतामा आक्रोश देखा परेको छ । हाम्रो दुई मन्त्री छन् तर, मन्त्रालयमा बजेट छैन । गठबन्धन जसरी चल्नुपर्ने त्यसरी चलेन । हामी व्यापक असन्तुष्ट छौँ ।’

पत्रकारहरुसँगको भेटमा उनले नेकपा समाजवादी पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्ने संकेत गर्दै ‘अब जसको नीति हो, उसकै नेतृत्व हुनुपर्ने’ बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘म व्यक्तिवादी कुरा गर्दिनँ । हाम्रो महाधिवेशनले के नीति पारित गर्छ । त्यसलाई हेर्छौँ । जसको नीति हुन्छ उसले नै नेतृत्व गर्नुपर्छ ।’

उनले ‘नीति र नेतृत्वबीच समन्वय हुनुपर्ने र वामपन्थी पार्टीहरुबीच एकता हुनुपर्ने’ धारणा राखे । देशमा परिवर्तन चहाने शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको खनालको भनाई छ ।