बाँके । बाँकेको दुर्गम नरैनापुर नाकाबाट विभिन्न प्रलोभन देखाएर भारत लैजादै गर्दा दुई जना किशोरीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । उक्त नाकामा किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ ।  सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा दुई किशोरीलाई सशस्त्र प्रहरीले फेलापारेको थियो । उद्धार गरिएका दुवै किशोरी बर्दियाका रहेको सशस्त्र प्रहरी बल नं ३० गणले जानकारी दिएको छ । पक्राउ पर्नेमा नरैनापुरका हनुमान यादव, भारतको उत्तर प्रदेश श्रावस्तीका हनुमानप्रसाद महन्त छन् ।उद्धार गरिएका दुवै किशोरीलाई आजै परिवारको जिम्मा लगाइएको शान्ति पुनःस्थापना गृह नेपालगन्जकी प्रमुख सम्झना चदराले जानकारी दिए । उनले उद्धार गरिएका किशोरीका केही साथी अझै पनि भारतमा रहेको उल्लेख गर्दै विशेष सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको बताए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको छ ।