मेचीनगर । चाडपर्व नजिकिँदै गएसँगै सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएको छ । यसै क्रममा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म काँकरभिट्टाले झापाको मेचीनगर–७, विभिन्न तीन ठाउँबाट करिब ८ लाखबढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले मेचीनगर-७ जोरसिमलबाट करिब ४ लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ । त्यसैगरी भान्सा छेउ मेची पुलमुनिबाट चेकजाँचका क्रममा १ लाख ५० हजार रुपैयाँ बराबरको किराना सामान र तुर्केनीबाट चेक पोइन्टबाट २ लाख ५० हजार रुपैयाँ बराबरको बीउ र सुपारी बरामद गरेको हो ।
सीमा क्षेत्रमा चाडपर्व नजिकिएसँगै अवैध रूपमा सामान ओसारपसार तथा तस्करी मौलाउन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म काँकरभिट्टाका डीएसपी योगराज थापाको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी तथा अवैध गतिविधि नियन्त्रणको अभियानलाई तीव्रता दिइदा अबैध सामान बारामद गर्न सफल भएको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।






















































