मेचीनगर । जापानीज इन्सेफलाइटिस (जेई) को जोखिम नियन्त्रण तथा संक्रमणबाट नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले मेचीनगरमा खोप अभियान सञ्चालन हुने भएको छ।

असोज ५ गते मेचीनगरको काकरभिट्टाबाट अभियानको औपचारिक शुभारम्भ गर्ने तयारी गरिएको छ। अभियान उद्घाटन कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य कार्यालय झापाका अधिकारीलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाको सहभागिता रहने कार्यक्रम तय भएको जनाएको छ ।

मेचीनगर स्वास्थ्य शाखा प्रमुख सबिता निरौलाका अनुसार अभियानअन्तर्गत मेचीनगरमा ३० वर्षमाथिका उमेर समूहका झन्डै ६० हजारभन्दा बढी नागरिकलाई जापानीज इन्सेफलाइटिसविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । लक्षित समूहसम्म खोपको पहुँच पुर्‍याउन नगरका विभिन्न स्थानमा खोप केन्द्र सञ्चालन गरिने तयारी गरिएको छ।

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, चेतनाको अवस्था परिवर्तन हुने तथा गम्भीर अवस्थामा मस्तिष्कमा असर पर्न सक्ने भएकाले यसको रोकथाममा खोपलाई महत्वपूर्ण मानिन्छ।

झापा तराई क्षेत्रमा पर्ने भएकाले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण र सीमावर्ती आवतजावतलाई समेत ध्यानमा राख्दै स्वास्थ्य निकायले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।

खोप अभियानसँगै लामखुट्टेको टोकाइबाट बच्ने, घर तथा समुदाय वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने र सम्भावित लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ।

काकरभिट्टाबाट सुरु हुने अभियानलाई मेचीनगरका सबै लक्षित नागरिकसम्म पुर्‍याउने गरी स्थानीय तह, स्वास्थ्य कार्यालय तथा स्वास्थ्यकर्मीबीच समन्वय गरिएको शाखा प्रमुख निरौलाले जानकारी दिइन् ।