काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुरको आँपटारीबाट २५ वर्षीय भारतीय नागरिक काथराम निथिनलाई उक्त अभियोगमा समातेको हो । स्थानीय निर्मला विष्टको घरमा बस्दै आएका उनलाई नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा कल बाइपासमा प्रयोग हुने उपकरणसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका क्राममा निथिनले प्रयोग गरेका उपकरण तथा सामाग्रीहरु अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेको जनाइएको छ । उनको साथबाट २६ थान मोबाईल सेट, २ थान ल्यापटप, ७७ थान एनसेलको सिमकार्ड, १८ थान एनटीसी सिमकार्ड र ४ थान सीपीयू, १ थान इन्भर्टर, २ थान ब्याट्री, ६ थान २० पोर्टको यूएसबी, ३३ थान यूएसबी सेलुलर मोडेम, ३० थान यूएसबी टु अडियो केबल, ५ पोर्टको १ थान नेटवर्क स्वीच, २ थान इन्टरनेट राउटर, र विभिन्न प्रकारका डेटा केबुल प्रहरीले बरामद गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका निथिनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।