सुनसरी । सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई भारतीय युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बीआर ३८एइ ६०७५ भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत जोगबनीका २७ वर्षीय सोनुकुमार चौधरी र पछाडी सवार भारत ग्राम पञ्चायत ११ का बलवीर रामलाई पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चालक चौधरीसँग ७० ग्राम ५ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
उनले हेलमेटभित्र लुकाइछिपाई ब्राउन सुगर ल्याएका थिए । पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



















































